Tue. Sep 24th, 2024

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

तस्विर-विष्णु सापकोटा जुगलको फेसबुक

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ । काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो । बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सकेपछि पुस ११ देखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो ।

तस्विर-विष्णु सापकोटा जुगलको फेसबुक

शनिबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गर्नुभएको हो । प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशभर पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्ने गर्नेछ ।

त्यस्तै, असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने उहाँले बताउनुभयो । साथै, प्रचण्डले बैठकमा देशभरका सबै वडामा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रस्ताव गर्नुभएको उहाँले बताउनुभयो । ‘७७ वटै जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने, मंसिर १५ मा प्रदेशको अधिवेशन सम्पन्न गर्ने र माओ दिवसको अवसर पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गर्नुभएको छ,’ उहाँले भन्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments