Tue. Sep 24th, 2024

अफगानिस्तानमा तालिबानले प्रमुख सहर कब्जा गर्न खोजेपछि हिंसात्मक द्वन्द्व

काठमाण्डौं, २०७८ साउन १७ गते आईतबार । अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ।

सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन्। सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन्।

तर यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ। तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ।

लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ।

तालिबानले त्यहाँ गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो। अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पुर्‍याएको दाबी गरेका थिए।

बीबीसी संवाददाता सेकुन्दर केरमानीले तालिबानले सहरमा आक्रमण केन्द्रित गरेको र थुप्रै अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको हेल्मन्ड प्रान्तको राजधानी लश्कर गहको अवस्था तरल रहेको बताएका छन्।

उनले तालिबानहरूले सहरको प्रमुख स्थानहरूमा आफ्ना लडाकुको तस्बिर सामाजिक सञ्जालमा हालेको बताउँदै एक स्थानीयले सरकारी सेनाले पछाडि धकेले पनि यो घटनाले तालिबानको बढेको सामर्थ्य देखाएको बताएको बताए। बीबीसी

Facebook Comments