Thu. Nov 14th, 2024

एमाले स्थायी कमिटी बैठक आज ३ बजे बस्दै, पार्टी विवादबारे ठोस निर्णय हुनसक्ने

काठमाण्डौं, २०७८ साउन १६ गते शनिबार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा मुख्य तीन वटा एजेण्डामा केन्द्रीत भएर छलफल हुने उहाँले बताउनुभयो । कार्यालय सचिव तामाङकाअनुसार केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको छ ।

एमालेले साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यसको तयारीका लागि आज विभिन्न उपसमिति गठन हुने उहाँले जानकारी दिनुभयो । पूर्वमन्त्री नेता तामाङकाअनुसार विधान महाधिवेशन तयारीका लागि मस्यौदा उपसमिति, दस्तावेज तयारी उपसमिति, व्यवस्थापन उपसमिति लगायतका उपसमिति गठन हुनेछन् ।

त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकतामा गरिएको प्रगतिबारे बैठकमा व्रिफिङ गर्नुहुने तयारी छ । अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको सहमतिको समयसीमा सकिएकाले आजको बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकलाई प्रगतिबारे जानकारी गराउनुहुने र अगाडिको बाटोको विषयमा छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु पार्टी एकताको पक्षमा निरन्तर छलफल र संवाद गरिरहनु भएपनि नेता नेपाल १० बुँदे सहमतिबारेमा सन्तुष्ट देखिनुभएको छैन । त्यसलाई परिमार्जन गरी पार्टीभित्र अध्यक्ष ओलीसरह समान हैसियत माग राख्दैआउनुभएको छ ।

त्यस विषयमा सहमति हुन नसकेपछि पार्टी एकता अगाडि बढ्न सकेको छैन । विघटित कार्यदलले गरेको १० बुँदे सहमति एमालेको स्थायी कमिटी तथा केन्द्रीय कार्य समितिले अनुमोदन गरी कार्यान्वयन शुरु गरिसकेको छ । नेपाल पक्षका सांसदहरु सरकारमा सहभागी हुनुपर्ने दवाव दिइरहेका छन् भने नेतृत्व तहले सरकारमा सरकारमा तत्काल सहभागी हुने इच्छा देखाएको छैन । गोरखापत्र अनलाईन

Facebook Comments