Mon. Sep 23rd, 2024

यथासक्दो चाँडो सरकार विस्तार गर्न सहयात्री दलहरुबीच सहमति

- सत्ता गठबन्धन दलको बैठक सम्पन्न

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा सरकार विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ-आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पु-याउनुपर्ने विषयमा पनि छलफल भएको चौरासियाले बताउनुभएको छ । जसपाको कार्यकारिणी समितीको बैठक आज पनि दिउँसो १ बजे बस्दैछ, यसपश्चात् दलको नेता, उपनेता, सचेतक लगायतका नेताहरु टुंग्याउने काम हुने र यसपछि मात्रै सरकार पुर्नगठनमा सहभागी हुने प्रावधान अनुरुप जसपाले तयारी गरिरहेको छ । समग्रमा सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठकले सरकार गठनमा ढिलाई भएको निष्कर्श निकालेको चौरासियाले बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि आजको बालुवाटार बैठकमा मन्त्रीपरिषद् विस्तार एवम् सरकारको न्यूनत साझा कार्यक्रमबारे छलफल भएको जानकारी दिनुभएको छ ।

बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा. विजय पौडेल सहभागी हुनुभएको थियो । यस्तै गठबन्धनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी हुदै आउनुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments