Mon. Sep 23rd, 2024

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । प्रधानमन्त्री शेर बहादुर देउवाले बहुमतको विश्वासको मत प्राप्त गर्नुभएको छ । संघीय संसदको आज बसेको बैठकमा देउवाले माग्नु भएको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा १६५ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

त्यसैगरी ८३ जना सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए भने एक जना सांसदले मतदानको पक्षमा छुईन भनि मत व्यक्त गरेका थिए । मतदानमा कुल २ सय ४९ जना सांसदहरुको उपस्थिती रहेको थियो ।

मतदान सुरु हुनुभन्दा पहिले प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे लगत्तै सो मतबारे व्यापक छलफल भएको थियो । सो प्रस्तावको पक्ष र विपक्षमा विभिन्न दलका नेताहरुले दलको धारणा राख्नु भएको थियो ।

यसैबीच विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताउनुभयो । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने बताउनुभयो ।

संविधान समावेशी र समानुपातिक चरित्रको भएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले अझै जनजाति, थारु, मधेसको मुद्दा सम्बोधनका लागि आफूले दलसँग छलफल गर्न तयार रहेको बताउनुभयो । सबै नेपालीको साझा देश नेपाल भएकाले सबैको माग सम्बोधन गरिने बताउनुभयो । सबैको माग सुनुवाई गर्नकैलागि समावेशी संविधान निर्माण गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले कोरोना महमारी कायमै रहेकाबेला बाढी पहिरोको प्रकोपले समस्या पारिरहेकाले सबैले मिलेर समस्याको समाधानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । विकासभन्दा अघि जनताको जीवन बचाउन आवश्यक भएकाले उहाँले खोपको उचित प्रबन्ध गरिने बताउनुभयो । छिमेकी देशसँग राम्रो सम्बन्ध बनाउँदै अन्य देशसँग पनि सहकार्य सुमधुर बनाउनेमा ध्यान दिने उहाँले प्रष्ट पार्नुभयो ।

अगाडिका दिन चुनौतिपूर्ण रहेकाले सबै दल सँगै मिलेर जानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले चर्चा गर्नुभयो । सकेसम्म सहमतीको राष्ट्रिय सरकार बनाउँ भन्दै प्रधानमन्त्री देउवाले एमाले दललाई सहमतिमा आउन आव्हान गर्नुभयो । अहिलेको आवश्यकता पनि त्यही भएको उहाँले बताउनुभयो ।

Facebook Comments