Mon. Sep 23rd, 2024

माधव नेपाल नयाँ पार्टी गठनको तयारीमा जुट्दै, प्रधानमन्त्री देउवासँग छलफल

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा निवास कोटेश्वर पुग्नुभयो । प्रधानमन्त्री भएको दोस्रो दिन नै देउवा कोटेश्वर पुग्नुभएको हो ।

बैठकपछि नेपाल र देउवाले भेटमा भएको छलफलबारे पत्रकारसँग बोल्नुभएन । नेता विरोध खतिवडाले चाहिँ स्पष्टै छ भन्दै घुमाउरो भाषामा भन्नुभएको थियो, ‘हामीले सर्वोच्च अदालतमा रिट हालेकै संसदलाई पूरा अवधि टिकाउनका लागि हो, अब के गर्छौं भनेर हामीले भन्नैपरेन, कुरा स्पष्टै छ त ।’

बैठकपछि प्रधानमन्त्री देउवा निजी निवास बुढानिलकण्ठ जानुभयो । निजी निवासमा देउवाले साँझ नै नेता नेपालसँग भएको छलफलबारे निकटस्थहरुलाई बताउनुभएको छ ।

देउवाले नेताहरुलाई शेयर गरेअनुसार नेता नेपालले विश्वासको मत दिनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । नेता नेपालले आफूहरु नयाँ पार्टी गठन प्रक्रियामा अगाडि बढेकोसमेत त्यहाँ बताउनुभएको थियो । उहाँले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा समर्थक र शुभेच्छुकलाई दिएको अभिव्यक्ति स्मरण गराउँदै ओलीसँग एक हुन नसकिनेसमेत उल्लेख गर्नुभएको थियो ।

देउवा निकट नेताका अनुसार नेता नेपालले विश्वासको मत नलिएसम्म सरकार विस्तार नगर्न आग्रह गर्दै आफूहरुसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अवस्था आउने बताउनुभएको थियो । त्यसमा देउवाले सहमति जनाउनुभएको थियो ।

दल विभाजन विधेयक संसदमा ल्याउने वा अध्यादेश ल्याएर नेपाल समूहको सांसद पद सुरक्षित गरेर अवतरण गराउने, सरकारमा सहभागी हुने र अबको चुनावमा सरकार गठनअघिको गठबन्धनको जीत सुनिश्चित गराउनेबारेसमेत छलफल भएको थियो ।

स्रोतका अनुसार नेपालले नयाँ पार्टी गठनको तयारी गरेकोले सहजताका लागि सरकारले अध्यादेश ल्याउने भएको छ । आज वा भोली नै अध्यादेश ल्याएर नेपाललाई पार्टी फुटाउन सजिलो पारिदने  आस्वासन प्रधानमन्त्रीले दिनुभएको छ । नेपाली बहस अनलाईन

Facebook Comments