Mon. Sep 23rd, 2024

महान्यायधिवक्ता रमेश बडालद्वारा राजीनामा

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । नेपाल सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ता बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । बडालले रासससँग कुरा गर्दै भन्नुभयो, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।”

सरकारको कानुनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले ३ महिना २१ दिन काम गर्नुभयो । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

Facebook Comments