Mon. Sep 23rd, 2024

एमाले स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा छलफल

काठमाण्डौं, २०७८ असार २८ गते सोमबार । नेकपा एमाले स्थायी कमिटीको आज दिउँसोदेखि बसेको बैठकमा सर्वोच्च अदालतले आज गरेको फैसलाका सम्बन्धमा अनौपचारिक छलफल गरिएको छ । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दिनु भएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा उपलब्ध सदस्यहरुसँग समसामयिक एवम् राजनीतिक विषयमा छलफल भएको छ ।

आजको बैठकमा सर्वोच्च अदालतको फैसलाले देशको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याएको साझा दृष्टिकोण पाइएको उहाँले बताउनुभयो । लोकतन्त्र शक्ति पृथककीकरण, शक्ति नियन्त्रण एवम् सन्तुलनको सिद्धान्तमाथि उभिएको, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति सन्तुलन रहनुपर्नेमा सर्वोच्चको फैसलाले लोकतन्त्रको पिलरलाई हल्लाएको समेत ज्ञवालीले बताउनुभएको छ ।

सरकार गठनका विषयमा संविधानमा आफ्नै व्यवस्था भएपनि यसको देशमा अर्को अभ्यास सुरु भएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसला अप्रिय र त्रुटिपूर्ण रहेपनि विधिविधान र फैसलालाई आफूहरुले मान्ने पनि उहाँले बताउनुभएको छ । भोलि बस्ने स्थायी कमिटीको बैठकले यसबारे औपचारिक धारणा निर्माण गर्ने एमाले प्रवक्ता ज्ञवालीले बताउनुभएको छ ।

Facebook Comments