Mon. Apr 20th, 2026

अमेरिकाबाट एक मात्रा लगाए पुग्ने खोप आउने ‘पक्कापक्की’, दूतावास भन्छ बन्दोबस्तीको तयारी हुँदै

       

काठमाडौं, २०७८ असार २४ गते बिहीबार । संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका प्रवक्ता एना रिची एलनले भन्नुभयो, “संयुक्त राज्य अमेरिका नेपाल सरकार र कोभ्याक्ससँग नजिकमा रहेर अमेरिकी खोपहरू नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्नेगरी भित्र्याउने उद्देश्यले काम गरिरहेको छ। सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न हामीले गरिरहेका छौँ।”

अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको छैन। तर त्यो “उल्लेख्य परिमाण”मा आउने बताइएको छ। दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बीबीसीलाई बताएका थिए।

बीबीसी नेपालीलाई प्रतिक्रिया दिदैँ काठमाडौंस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले कानुनी र बन्दोबस्तीका चुनौती सम्बोधन गर्न आफूहरूले काम गरिरहेको जनाउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आपत्‌कालीन प्रयोग अनुमति दिएका खोप नेपाल भित्र्याउन कुनै बाधा नरहेको प्रतिक्रिया दिएका छन्।

भारत र चीनबाट अनुदान तथा खरिद गरी भित्र्याएको खोपका मद्दतले नेपालको जनसङ्ख्याको तीन प्रतिशतभन्दा बढीलाई दुवै मात्रा र नौ प्रतिशतभन्दा बढीलाई पहिलो मात्रा खोप दिएको छ।

बाइडन प्रशासनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्याण्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गत जून महिनामा गरेको थियो।

अघिल्लो साता मात्रै अमेरिकाले दक्षिण एशियाका पाकिस्तान र बाङ्लादेशलाई २५/२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार