Fri. Sep 20th, 2024

एमालेका अध्यक्ष ओली र नेता नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौं, २०७८ असार २४ गते बिहीबार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेता नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

बुधबार साँझ नक्सालस्थित एक होटलमा लामो समय वार्ता भएको भए पनि वार्ता बिनानिष्कर्ष टुंगिएको हो । तर, वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गर्नुभयो। उहाँका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।

‘समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ । पुनः कुराकानी हुनेछ । हामीले समस्याका विषयमा गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं । अब कार्यदलका बीचमा छलफल हुन्छ,’ वार्तापछि रावलले भन्नुभयो ।

ओली र नेपालबीच केहीबेर वान अन वान वार्तापछि कार्यदल सदस्यहरु पनि सहभागी भएका थिए । तर, वार्तामा ठोस सहमति भने जुट्न सकेन ।

लामो समयदेखि विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको उहाँले बताउनुभयो ।

नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने बताउनु भयो। बैठक साँझ ८ बजेदेखि ९ः३० बजेसम्म चलेको थियो । कान्तिपुर 

Facebook Comments