Sun. Sep 22nd, 2024

नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र

काठमाडौं, २०७८ जेठ २९ गते शनिबार । महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गर्नुभएको हो । प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको बताउनु भयो । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । यसको जवाफ उताबाट आइनसकेको उहाँले बताउनु भयो ।

प्रजिअ जोशीले भारतको धारचुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण नदी पसेर बाटो अवरुद्ध भएको विवरण गृह मन्त्रालयमा दिइएको जानकारी दिनुभयो ।

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर सडक डुबाउनुका साथै भत्काएको विषय प्रशासनबाट पत्राचारमार्फत जानकारीमा आएको बताउनु भयो । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतको ध्यानाकर्षण गराइने उहाँले बताउनु भयो । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो मंगलबार पारिपट्टि निर्माणाधीन धारचुला–लिपुलेक सडक विस्तार गर्दा चट्टान खसेर भत्किएको थियो ।

त्यसको दुई दिनपछि बिहीबार प्रजिअ जोशीले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाउनु भएको हो । नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पूर्ववत् प्राकृतिक धारमा फर्काउन भारतीय पक्षसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । कान्तिपुर अनलाईन

तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

Facebook Comments