Fri. Nov 15th, 2024

कोरोना भाइरस खोपको बौद्धिक सम्पत्ति अधिकार नहुने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । अमेरिकाले कोरोनाभाइरस खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने विश्व व्यापार सङ्गठनमा अघि बढाइएको अभियानलाई समर्थन गरेको छ। भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रूपमा खोप उत्पादन वृद्धिका लागि मद्दत गर्ने भन्दै उक्त प्रस्ताव अघि सारेका हुन्।

तर औषधि उत्पादकहरूले अहिले गरिएको प्रस्तावले सोचे अनुरूपको परिणाम दिन नसक्ने तर्क गरिरहेका छन्। अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले अहिलेको अभूतपूर्व समयमा अभूतपूर्व कदम चालिनुपर्ने बताउनु भयो।

उहाँले डब्लूटीओका सबै १६४ सदस्यहरूले यसबारेमा सहमतिमा निर्णय गर्न केही समय लाग्ने जानकारी पनि दिनुभयो । लगभग ६० वटा देशहरूले खोपको सर्वाधिकारलाई हटाउन छ महिनादेखि अघि बढाएको प्रयासमा भारत र दक्षिण अफ्रिकाले मुख्य रूपमा आवाज उठाउँदै आएका छन्।

यसअघिको ट्रम्प प्रशासन, यूके र युरोपेली सङ्घले त्यसको कडा विरोध गरिरहेको थियो। तर ट्रम्पका उत्तराधिकारीले अलग्गै बाटो समाएका छन्।

सन् २०२० को चुनावी अभियानमा उनले सर्वाधिकारमा उन्मुक्ति दिने प्रतिबद्धता जनाएका थिए र बुधवार त्यसलाई दोहोर्‍याएका छन्। बिबिसी

Facebook Comments