Fri. Sep 20th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सीसमक्ष राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं, २०७८ बैशाक १ गते बुधबार । जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले आज चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । कार्यभार सम्हालेको झण्डै नौ महिनापछि राजदूत पाण्डेले औपचारिकरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

कोरोना महामारीका कारण पाण्डेलगायत राजधानी पैचिंग पुगेका ३१ देशका राजदूतहरुले ओहोदाको प्रमाणपत्र लामो समयसम्म बुझाउन पाउनु भएको थिएन । पैचिंगस्थित जनवृहत सभाभवन (ग्रेट हल अफ द पिपुल)मा एक समारोहका बीच राष्ट्राध्यक्ष सी चिन फिग समक्ष राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राजदूताबासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्राध्यक्ष सीले प्रमाणपत्र बुझेपछि संक्षिप्त कुराकानी गर्दै समकक्षी विद्यादेवी भण्डारीप्रति शुभेच्छा प्रकट गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको शुभकामना सन्देश राजदूत पाण्डेले सुनाएपछि सीले जवाफमा भन्नुभयो, ‘मेरो शुभेच्छा पनि राष्ट्रपति भण्डारीसमक्ष पुर्‍याइदिनुहोला ।’

महामारीकै कारण नियुक्त भएको लामो समयसम्म राजदूत पाण्डे नेपालमै अडकिनु भएको थियो । पैचिंग पुगेपछि अनलाइनमार्फत् ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर उहाँले कार्यभार सम्हाल्नु भएको खवर नेपाल समाज अनलाईनले लेखेको छ ।

Facebook Comments