Fri. Sep 20th, 2024

पत्रकार महासंघमा विपुल पोखरेल पक्षको अग्रता कायमै

काठमाडौं, २०७७ चैत २६ गते बिहीबार नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा अग्रता लिएको छ । महासंघकाअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको संयुक्त प्यानलले अग्रता कायमै राखेको छ । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलबाट निर्वाचनमा होमिनुभएका निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा अग्रता लिएपनि पछाडि रहेको छ । देशको अधिकांश जिल्लामा मतगणना जारी रहेको र केही जिल्लाको परिणाम मात्र आएको छ ।

आएको परिणामअनुसार दुवै प्यानलबाट विजयी शुरुवाट भइसकेको छ । महासंघ निर्वाचन समितिका संयोजक कपिल काफ्लेकाअनुसार अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार बिपुल पोखरेलले ८६४ मत प्राप्त गर्नुभएको छ । अन्य अध्यक्षका उम्मेदवारमा निर्मला शर्माले ३७१, गजेन्द्र सिंह बुढाथोकीले २९ र ९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ७५८, माधव नेपालले ३८६ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महिला उपाध्यक्षमा बाला अधिकारीलाई ८०१ र दाना केसीलाई ३३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष (समावेशी) अन्तर्गत उदय जिएमले ३९६ र अवधेश झाले ३५२ मत प्राप्त गर्नुभएको छ । मोहनकुमार सिंहले ७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महासचिवमा रोशन पुरीलाई ६८९, बालकृष्ण बस्नेतलाई ३९७ र सुबोध गौतमलाई ७९ मत प्राप्त गरेको छ । त्यस्तै, सचिव खुलातर्फ गोविन्द चौलागाईलाई ६८८, रामकृष्ण ज्ञवालीले ३२२, जन्मदेव जैशीले ७१ र यम विरहीलाई ७३ मत प्राप्त भएको छ ।

निर्वाचन संयोजक काफ्लेकाअनुसार महिला सचिवमा सिर्जना अर्याललाई ७२४ र निमा काफ्लेलाई ४०२ मत प्राप्त भएको छ । त्यस्तै, सचिव आदिबासीमा नारायण किलम्बुलाई ७११, शाहीमान राईलाई २९२ र रामकुमार श्रेष्ठलाई १४० मत प्राप्त भएको छ । सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ७२३ र मधु शाहीलाई ४०२ मत प्राप्त भएको छ ।

त्यस्तै, सचिव मधेसीमा दिपेन्द्र चौहानलाई ६९०, स्वेता सिन्हालाई ४०७ र देवकुमार यादवलाई ४७ मत प्राप्त भएको छ । सोहीअनुसार सचिव एशोसियट्स तर्फ पवन आचार्यलाई ६७८, रामेश्वर कार्की २७७, केपी ढुंगाना ६७, केशवराज खनाल ४७, राधेश्याम दाहाल ३१ र विनय देवकोटाले २२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाललाई ६५७, कृष्ण गिरी ३२०, माधव दुलाल १०० र प्रकाश थापालाई ५४ मत प्राप्त भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्योपानेलाई ६५३, द्वारिका काफ्ले ३१७ र लक्ष्मण कार्कीलाई १६२ मत प्राप्त भएको छ ।

गोरखापत्रकर्मी निर्वाचित

यसैगरी गोरखापत्रकर्मीहरुले पनि केही जिल्लाको नेतृत्वमा निर्वाचित भएको समाचार छ ।

हुम्लाका समाचारदाता राजन राउत महासंघ हुम्लाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै, सुर्खेतको जिल्ला अध्यक्षमा समाचारदाता ललित बसेल निर्वाचित हुनुभएको छ । सोहीअनुसार पाल्पाका समाचारदाता रेखीराम राना अध्यक्षमा निर्वाचित हुनुभएको छ । इलामका समाचारदाता कोकिला ढकाल प्रदेश १ महिला उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गोरखापत्र

Facebook Comments