काठमाडौं, २०७७ चैत ९ गते सोमबार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले अफगानिस्तानको अघोषित भ्रमण गर्नु भएको छ। अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै फौज फिर्ता गर्ने योजनाको केही साता पहिला उहाँले यो भ्रमण गर्नुभएको हो ।
राष्ट्रपति अशरफ गनीसँग काबुलमा भेटेपछि, उहाँले जिम्मेवार रुपमा युद्धको अन्त्य गर्न आह्वान गर्नुभयो। तर समयावधिभित्रै फौज फिर्ता हुन्छन् कि हुन्नन् भन्नेबारे चाहिँ केही भन्नु भएन ।
अस्टिनले द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न हिंसाहरूमा कमी ल्याउनुपर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो। आफ्ना फौज फिर्ता गर्नेबारे गत वर्ष ट्रम्प प्रशासनका बेला अमेरिकाको तालिबानसँग सहमति भएको थियो।
तर प्रश्नहरू के छन् भने अफगान सरकारसँग वार्ताका लागि विद्रोहीहरूले आफ्नो प्रतिवद्धता पूरा गरे कि गरेनन्। अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले मे १ तारिखको समयावधिभित्रै काम गर्न कठिन हुने बताएका छन्। अफगानिस्तानको भ्रमण गर्ने बाइडनको मन्त्रिपरिषद्का अस्टिन पहिलो सदस्य हुनुहुन्छ। एसियाको संक्षिप्त भ्रमणको अन्त्यतिर आइतवार उहाँ काबुल जानु भएको हो । पत्रकारहरूसँग बोल्दै अस्टिनले हालैको सम्झौता अनुसार तालिबानले उनीहरूको दायित्व पूरा गरे कि गरेनन् भन्नेबारे उहाँले केही बोल्नु भएन । बिबिसी