Fri. Sep 20th, 2024

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, २०७७ चैत ७ गते शनिबार नेकपा (एमाले) ले पार्टी हितविपरित काम गरेको भन्दै पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

केन्द्रीय सदस्य महेश बस्नेतकाअनुसार बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टीलाई खुइलाउने काम गरेको, गुटगत भेला गरेको र सरकारलाई बदनाम गर्ने काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको नेता बस्नेतले बताउनुभयो । सोहीअनुसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

नेता बस्नेतका अनुसार बैठकले पार्टी अध्यक्षलाई पार्टी नेता, कार्यकर्ताहरुको मनोनयन, कारवाही गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छ । बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ । नेता बस्नेतकाअनुसार अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै काम अध्यक्षलाई अख्तियारी गर्ने निर्णय गरेको छ ।

सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ । विहान बसेको संसदीय दलको बैठकमा सहभागी हुनुभएका नेता बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी नहुनुभएको नेता बस्नेतले बताउनुभयो ।

स्वास्थ्यअवस्थाका कारण उहाँ बैठकमा सहभागी नहुनुभएको नेता बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । केन्द्रीय कमिटी बैठक जारी छ । बैठकले विभिन्न दश बुँदे निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको नेता बस्नेतले जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments