Fri. Sep 20th, 2024

उपराष्ट्रपति पुनद्वारा मौलिक भाषामा आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त

- अन्तराष्ट्रिय मातृभाषा दिवस-२०२१

काठमाडौं, २०७७ फागुन १० गते सोमबार

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषामा आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवस २०२१ को उपलक्ष्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ को समुद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले सो विचार व्यक्त गर्नुभएको हो ।

“विभिन्न जाति, जनजातीका मातृभाषा बोल्नेको संख्यामा दिनानुदिन कमि आइरहेको छ । कतिपय भाषाहरु लोप भैसकेका छन् र कतिपय लोप हुने संघारमा पुगेका छन् । दशक अघि मातृभाषामा सम्वाद हुने परिवारमा आज नेपाली भाषामा सम्वाद हुन थालेको छ किनकी वालवालीकाहरुसँग मातृभाषामा कुरा गर्न अभिभावकहरु छाड्दै गएका छन् ।” उपराष्ट्रपति पुनले भन्नु भयो ।

अंग्रेजी भाषा प्रतिको मोह गम्भिर समिक्षाको विषय बन्नु पर्ने बताउनु हुँदै उपराष्ट्रपति पुनले भन्नु भयो,“वालवालिकासँग अभिभावकले नेपाली भाषामा पनि बोल्न छोडेका छन् । वालवालिकाको माध्यम भाषा नेपाली नभई अंग्रेजी हुन थालेको छ । यी तमाम हाम्रा कार्यले अन्ततः हाम्रो मातृभाषा लोप हुने गर्दछ । जव हाम्रो मातृभाषा लोप हुन्छ, हाम्रो मौलिक संस्कृति पनि लोप हुने गर्दछ र हाम्रो पहिचान पनि संकटमा पर्ने गर्दछ ।” उहाँले भाषा र संस्कृति नै नेपालीहरुको मूल पहिचान भएको बताउनु भयो । “हामीले किन मातृभाषालाई वेवास्ता गरिरहेका छौं, किन नेपाली भाषालाई वेवास्ता गरिरहेका छौं, अंग्रेजीप्रति यत्ति धेरै मोह किन भैरहेको छ ?” उहाँले प्रश्न गर्नुभयो ? कुनै पनि भाषा बोल्ने समुदाय बहुसंख्यक वा अल्पसंख्यक जस्तो सुकै भएपनि ति समुदायका ज्ञान विज्ञान कला, साहित्य, संस्कृति, इतिहास, पुरातत्व लगायतका सम्पदाहरु समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिले समेत विशिष्ट एवम् महत्वपूर्ण हुने बताउँदै उहाँले यस्ता महत्वपूर्ण सामग्रीहरु भाषाकै माध्यमबाट जीवित रहने हुनाले कुनै पनि भाषालाई कम आंकलन गर्न नहुने बताउनुभयो ।

“हाम्रो देश प्रकृति र संस्कृतिले विश्कै धनी राष्ट्र हो । प्रकृतिको अनुपम उपहारभित्र रहेको हाम्रो मौलिक भाषा, संस्कृति, हाम्रो संस्कार गौरव मात्रै होइन विश्वसामु नेपालको चिनारी र मूल पहिचान हो । आजको विश्वमा जोसँग धेरै भाषा छ, जोसँग धेरै मौलिक संस्कृतिहरु छन् उनै धनी राष्ट्र हो । हाम्रो देशमा धेरै प्रकारका लोक संस्कार र संस्कृतिहरु छन् र हामी अत्यन्तै धनी छौं । हामी गौरवका साथ भन्न सक्छौं कि हामी भाषा र संस्कृतिमा विश्वकै धनी मुलुकहरु मध्येमा पर्दछौं । यहाँहरुका विभिन्न समुदायहरुले बोल्ने भाषाहरु मातृभाषाहरु राष्ट्रका सम्पत्तिहरु हुन् । मातृभाषाहरुको संरक्षण र सम्बद्र्धनमा राज्य र सबै पक्षहरुले विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ ।” उहाँले भन्नु भयो । साथै उहाँले मातृभाषा संरक्षण र सम्बद्र्धन लगायतका विषयमा भाषा विज्ञहरु, नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्था र नेपाल सरकारले समयमै गम्भिर ध्यान दिन जरुरी छ रहेको समेत औल्याउनु भयो ।

कार्यक्रमको समुद्घाटन सत्रमा विभिन्न जातजातीका मौलिक संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीको समेत उपस्थिती रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, साहित्य विभाग प्रमुख लक्ष्मी माली लगायतले अन्तराष्ट्रिय मातृभाषा दिवस र यसको महत्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा तथा संस्कृतिको संरक्षण, विकास र सम्वद्र्धनमा निर्वाह गरिरहेको भूमिका बारे चर्चा गर्नुभएको थियो ।

Facebook Comments