Fri. Sep 20th, 2024

काठमाडौंमा नेकपा प्रचण्ड-माधव समूहको विरोध सभा सम्पन्न

- प्रतिनिधिसभा विघटन विरुद्ध कसले के भने ?

काठमाडौं, २०७७ माघ २८ गते बुधबार

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन चर्काईरहेको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा विरोध सभा सम्पन्न गरेको छ । उपत्यकाका विभिन्न क्षेत्रबाट आएका प्रचण्ड-नेपाल नेतृत्व समर्थक कार्यकर्ताहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।

भृकुटीमण्डपमा आयोजित आमसभामा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

विरोधसभा सम्पन्न गर्न ७६ वटै जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौं ल्याईएको एक नेताले बताए ।

विरोध सभालाई सम्बोधन गर्दै कसले के भने ?

पुष्पकमल दाहाल प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।

विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म, भावना र नेपाली नागरिककाे चाहना विपरीतका काम भए दुर्भाग्य हुने समेत बताउनुभयो । विरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउनुभएको छ । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफूहरू आधिकारिक पार्टी भनी दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उहाँले त्यसलाई हिसाब नगरि केपी ओलीको धम्क्याइलाई मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उहाँको भनाइ छ ।

उहाँले ओलीको निरङ्कुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । संयुक्त आन्दोलन गर्ने अवसरका रूपमा आएको भन्दै अवसर गुम्न नदिन उहाँको आग्रह छ । त्यसका लागि हातेमालो गर्न तयार रहेको दाहालकाे भनाइ छ ।

झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्रीको प्रतिगमनविरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किने छ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारेर छोड्ने छ ।’

प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव गराउने र आफूले दुई तिहाइ बहुमत ल्याउने भन्दै आएकोमा व्यङ्ग्य गर्दै उहाँले आउँदो चुनावमा ओलीको जमानत जफत हुने ठोकुवा गर्नुभयो ।

नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड-माधव समूहका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको छ । नेपाल नेकपा प्रचण्ड-माधव समूहले बुधवार काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको हो ।

आन्दोलनले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने कुरा सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो । उहाँले पार्टीले जनाएका प्रतिबद्धताहरू केपी ओलीको निरङ्कुश, स्वेच्छाचारिताको कारणले समृद्धिको सपना पूरा गर्न नसकेको बताउनुभयो ।

माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउनुभएको छ ।

आम नागरिकले केपी ओलीलाई धिक्कारी रहेको भन्दै नेता नेपालले प्रधानमन्त्री ओलीले गरेको पाप पशुपतिमा बत्ती बालेर धोइपखाली गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसलाई कम्युनिस्ट पार्टीको नाम मन पर्दैन । जसलाई लालसलाम शब्द मन पर्दैन । जसलाई पार्टीको क्रान्तिकारी अनुशासन मन पर्दैन । जसलाई पार्टीको बैठक भन्नेबित्तिकै रिँगटा लाग्छ । बैठक भन्यो कि केपी ओली फेन्ट हुने । त्यो मान्छे कम्युस्निट पार्टीको नेता हुन सक्छ ?

Facebook Comments