Fri. Sep 20th, 2024

कोरोना भाईरस विरुद्धको दोस्रो चरणको खोप भोलिदेखि लगाईने

- पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

काठमाडौं, २०७७ माघ २५ गते आईतबार

सरकारले भोलि सोमबारदेखि कोरोना भाईरस विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ ।

गौतमका अनुसार काठमाडौंको सिभिल अस्पताल मिनभवन, शिक्षण अस्पताल महारागञ्ज, सहिद गंगालाल अस्पताल, बाँसवारी र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्जमा सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

गोरखापत्र अनलाईनका अनुसार मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।

नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

Facebook Comments