Fri. Sep 20th, 2024

हिमपात हुँदा बाजुरा र हुम्लाका किसान खुशी, जनजीवन कष्टकर

काठमाडौं, २०७७ माघ २३ गते शुक्रबार

बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् ।

लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन् । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ”, बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भन्नुभयो, “एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ ।” हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको उहाँको भनाइ छ ।

हिमपातले कृषकमा खुशीयाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामानको अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् ।

अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ । निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो । बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो ।

यहाँका बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।

सिमकोट-हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात हुँदा यहाँका किसान खुशी भएका छन् ।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाा तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात शुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका-६ बराइगाउँका मानबहादुर ऐडीले बताउनुभयो । “यो हिमपातले हुम्लाका किसानमा निकै खुशी ल्याएको छ”, उहाँले भन्नुभयो, “यो हिमपात कृषि क्षेत्रका लागि उत्तम छ ।” यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ ।

हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो । रासस

Facebook Comments