Fri. Sep 20th, 2024

यमनका हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

काठमाडौं, २०७७ माघ २३ गते शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताउनु भएको छ ।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ। “यमनमा युद्ध अन्त्य हुनुपर्छ,”विदेश नीतिबारे पहिलोपटक वक्तब्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले भन्नुभयो ।

बिबिसीका अनुसार बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो। त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो।

तर अलकायदाविरुद्धको कारबाहीलाई यसले असर गर्दैन।

Facebook Comments