क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव
फाइल - १८ जनवरी, २०२४ मा एटलान्टामा देखाइएको अमेरिकन एक्सप्रेस कार्ड। (एपी फोटो/माइक स्टुअर्ट, फाइल)
न्युयोर्क, ६ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताउनुभएको छ । यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव संसद्का दुवै सदनमा डेमोक्रेटको नेतृत्व कायम हुने भएपछि अघि बढ्ने उहाँको अपेक्षा छ ।
शनिबार फक्स न्युजसँग कुरा गर्दै उहाँले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको बताउनुभयो । न्युयोर्क फेडरल रिजर्भका अनुसार क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ ।
सिनेटर एलिजाबेथ वारेन, प्रतिनिधि म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीलगायतले पनि ब्याजदर सीमित गर्ने प्रस्तावलाई समर्थन गर्नुभएको छ । तर, बैंक तथा कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोकिए कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकलाई कार्ड उपलब्ध गराउन कठिन हुने तथा पुरस्कार र सुविधा कटौती गर्नुपर्ने तर्क गर्दै आएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं डलर बचत गर्न सक्नेछन् । यसले क्रेडिट कार्ड उद्योगको नाफामा असर पारे पनि उद्योग घाटामा नजाने उनीहरूको निष्कर्ष छ ।
उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो र उनीहरूले ब्याजबापत एक खर्ब ६० अर्ब अमेरिकी डलर तिरेका थिए । न्युयोर्क फेडरल रिजर्भका अनुसार गत वर्षको तेस्रो त्रैमासिकसम्म अमेरिकीहरूको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको थियो, जुन हालसम्मकै उच्च हो । एपी

