Fri. Sep 20th, 2024

आमहड्तालका क्रममा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

काठमाडौं, २०७७ माघ २२ गते बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित गरेको छ ।

उपत्यकामा थोरै मात्रमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्ने १ सय ५७ जना जनालार्ई पक्राउ गरीएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो ।काठमाडौं उपत्यकामा मात्रै ८० जना अवरोध गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रवक्ता कुँबरले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको सामाखुशीमा ट्याक्सीमा आगजनी भएको उहाँले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा एक सरकारी गाडी सहित १४ वटा गाडीमा ढुङगा प्रहारबाट क्षति भएका अहिलेसम्म जानकारी आएको प्रवक्ता कुँवरले बताउनुभयो । उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताउनुभयो । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

यसैबीच, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बिहीबार घोषणा गरेको आम हड्तालको प्रभाव झापामा न्यून देखिएको छ । झापाका प्रमुख बजारहरु दमक, बिर्तामोड, काकडभिट्टा, सुरुगाका बजारहरु खुला नै रहेका थिए ।

पूर्वपश्चिम राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरु नचले पनि नीजि सवारी साधनहरु चलेका थिए । शहरी क्षेत्रका केही विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहे पनि अधिकांश खुला नै रहेका थिए ।

इलाका प्रशासन कार्यालय, दमक नगरपालिका, मालपोत कार्यालय, नापी कार्यालय लगायतका सरकारी कार्यालयहरु खुला नै रहेका थिए । आमहड्ताल भनिए पनि यसको खास प्रभाव यातायात बाहेक अन्य क्षेत्रमा देखिएको थिएन ।

बन्दकर्ताहरुको एक समूहले झापाको बिर्तामोडमा एउटा नीजि सवारी साधन भने तोडफोड गरेका छन् । नेकपाका कार्यकर्ताले मे. १ च १९४२ नम्बरको गाडी रोक्न खोज्दा केही बेर तनाव भएको बताइएको छ ।

उनीहरुले उक्त नीजि गाडीको सिसा फुटाइदिएका थिए । तोडफोडमा एकजना आन्दोलनकारी घाईते बनेको पनि जनाइएको छ । नेकपाका विद्यार्थी नेता मदन भण्डारी घाईते भएको र उनको उपचार भइरहेको बताइएको छ । गोरखापत्र

Facebook Comments