२०८३ कार्तिक २१, शनिवार

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला   

       

काठमाण्डू । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उहाँले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताउनुभएको हो ।

महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी कांग्रेसले आफ्ना कार्यक्रमलाई आगामी दिनमा अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय मुलुकमा शिक्षाको गुणस्तर खस्किएको भन्दै उहाँले यसलाई अगाडि बढाउन नेविसङ्घले प्रभावकारी रूपमा नृतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनले कांग्रेस र देशमा नयाँ उत्साह थपेको बताउनुभयो । पार्टीलाई जीवन्त राख्न विचार सङ्गठन र सफल नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसमाथिको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी बलियो बनाउनका लागि भ्रातृ संस्था बलियो हुनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेविसङ्घको महाधिवेशन शीघ्र गरिने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस गोरखाका नेता प्रकाशचन्द्र दवाडीले गोरखा कांग्रेसले युवामार्फत पार्टीको सङ्गठनलाई अगाडि बढाउँदै लगेको बताउनुभयो । केन्द्रीयस्तरका नेता गाउँगाउँमा गएर सङ्गठन विस्तार गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले कांग्रेसलाई चलायमान बनाउन भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताउनुभयो । नेविसङ्घ गोरखा काठमाडौँ सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पाटीसँग जोड्नका लागि नेविसङ्घले काम गर्दै आएको बताउनुभयो ।

राससका अनुसार कार्यक्रममा गोरखाबाट पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी हुनुभएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो ।

Facebook Comments