२०८३ आश्विन १७, शनिवार

राष्ट्रपति सीको अमेरिकाको भ्रमणले चीन-अमेरिका सम्बन्धमा नयाँ उपलब्धि हासिल गरेको चिनियाँ राजदूत सीए फङको भनाई

२४ सेप्टेम्बर २०२६ मा वासिङ्टन डि.सी. स्थित ह्वाइट हाउसमा सानो समूहबीचको अन्तरक्रियाका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हात मिलाउँदै। /सिन्ह्वा

       

पैचिङ । अमेरिकाका लागि चिनियाँ राजदूत सिए फङले चिनियाँ राष्ट्रपति सी चिनफिङको ११ वर्षपछि भएको अमेरिकाको राजकीय भ्रमणले इतिहास रचेको र चीन-अमेरिका सम्बन्धमा नयाँ कोशेढुङ्गा स्थापित गरेको बताउनु भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ युगमा चीन-अमेरिका सम्बन्धको रणनीतिक महत्त्वलाई पुनः पुष्टि गरेको अमेरिकाका लागि चिनियाँ राजदूत सिए फङले बताउनुभएको हो ।

अमेरिकी समाचार संस्था न्युजविकसँग बिहीबार प्रकाशित एक अन्तर्वार्तामा राजदूत सिए फङले भन्नुभयो, “हरेक दृष्टिकोणबाट यो भ्रमणले इतिहास रचेको छ र चीन तथा अमेरिकाबीचको आपसी सम्बन्धमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ ।”

राष्ट्रपति सीले सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको राजकीय भ्रमण गर्नुभएको थियो । यो भ्रमण गत मे महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले पैचिङको भ्रमण गर्नुभएको घटनाको पारस्परिक निरन्तरता थियो ।

दुवै देशका राष्ट्रपतिले छ महिनाभन्दा कम अवधिमा एकअर्काको देशको भ्रमण गरेको उल्लेख गर्दै राजदूत सिए फङले भन्नुभयो, “यसले दुवै पक्षले दुई देशका सर्वोच्च नेताबीचको राम्रो कार्यसम्बन्धलाई कति महत्त्व दिएका छन् भन्ने देखाएको छ । साथै, द्विपक्षीय सम्बन्धलाई थप स्थिर बनाउन र सुधार गर्न उपलब्ध अवसरको सदुपयोग गर्ने दुवै पक्षको साझा प्रतिबद्धतालाई पनि यसले प्रतिबिम्बित गरेको छ ।”

अमेरिकी पक्षले प्रदान गरेको उच्चस्तरीय राजकीय सम्मानले पारस्परिक सम्मान र आदानप्रदानमा समानतामा आधारित अन्तरक्रियाको स्वरूपलाई उजागर गरेको उहाँले बताउनुभयो ।

राष्ट्रपति सीको भ्रमणबाट प्राप्त पाँचवटा प्रमुख उपलब्धिबारे चर्चा गर्दै राजदूत सिए फङले यसले राष्ट्रप्रमुखस्तरीय कूटनीतिक सम्बन्धमा नयाँ अध्याय खोलेको, चीन-अमेरिका सम्बन्धका लागि नयाँ मार्गदर्शन प्रदान गरेको, पारस्परिक लाभका लागि सहकार्यका नयाँ अवसर सिर्जना गरेको, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार गर्न नयाँ पुल निर्माण गरेको र विश्व शान्तिप्रतिको दुवै पक्षको नवीकृत प्रतिबद्धता प्रदर्शन गरेको बताउनुभयो ।

राजदूत सिए फङले भ्रमणका क्रममा हासिल भएका उपलब्धिलाई “ठोस र महत्त्वपूर्ण” संज्ञा दिनुभयो ।

सिए फङका अनुसार भ्रमणको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक उपलब्धिमध्ये एक दुवै देशका राष्ट्रपतिले चीन-अमेरिका सम्बन्धको विषयवस्तुलाई थप समृद्ध बनाउनु र सम्मान, निष्पक्षता तथा पारस्परिकतामा आधारित रचनात्मक तथा रणनीतिक स्थिरतासहितको चीन-अमेरिका सम्बन्ध निर्माण गर्न सहमत हुनु हो ।

राजदूत सिए फङले भन्नुभयो, “यसले चीन-अमेरिका सम्बन्धको सुधार र विकासका लागि अझ स्पष्ट रणनीतिक मार्गदर्शन प्रदान गरेको छ । साथै, ‘थुसिडाइडिस ट्र्याप’बाट बच्ने र एकअर्कासँग सहअस्तित्व कायम राख्ने उपयुक्त मार्ग पहिल्याउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ ।”

भ्रमणपछि चीनले सार्वजनिक गरेको आठबुँदे उपलब्धिसम्बन्धी सूचीअनुसार दुवै देश कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी जोखिम र लाभबारे विचार आदानप्रदान गर्न चीन-अमेरिका एआई संवाद स्थापना गर्न सहमत भएका छन् । यस संवादको अर्को चरण नोभेम्बर २०२६ मा आयोजना गर्ने तय भएको छ ।

त्यसैगरी, एआईसँग सम्बन्धित घटनाबारे आपसी सञ्चार र समन्वय गर्न दुवै देशबीच द्विपक्षीय सञ्चार संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ ।

यस विषयमा राजदूत सिए फङले भन्नुभयो, “यसले एआई चीन-अमेरिका सहकार्यको नयाँ क्षेत्र बन्न सक्छ भन्ने प्रमाणित गरेको छ, न कि आपसी टकराव वा द्वन्द्वको अर्को नयाँ क्षेत्र ।” सिन्ह्वा

Facebook Comments