२०८३ भाद्र १६, मंगलवार

तनहुँमा भेटिएका पहिचान नखुलेका शव जङ्गलमा व्यवस्थापन गरिँदै

       

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका-५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवलाई भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार शव पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र व्यवस्थापन गरिनेछ ।

तनहुँ क्षेत्रमा हालसम्म ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

शवसँग सम्बन्धित आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन संवेदनशील विषय भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।

Facebook Comments