नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित
काठमाण्डू । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले पराजित गर्दै जित हासिल गरेको हो ।
नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो ।
नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्वपूर्ण योगदान दिए ।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए । नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग–२ मा महत्वपूर्ण अङ्क गुमाउन पुग्यो । विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो । यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो ।
यस जितसँगै ३१ खेलमा ३८ अङ्क बटुलेको नेदरल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै, ३२ खेलमा २४ अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । ४३ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ । रासस

