Fri. Jun 26th, 2026

नेपालको व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका लागि ल्हासामा कार्यक्रम

       

रे समाचार/काठमाण्डू । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ।

 नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा सांग्रिला होटलमा हिजो (बिहीबार) आयोजित कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ फेङ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले गर्नुभएको थियो।

कार्यक्रममा सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ व्यवसायी, नेपालसँग व्यापारमा संलग्न उद्यमी, ल्हासास्थित नेपाली व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधिलगायत ११३ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे प्रस्तुति तथा प्रवर्द्धनात्मक भिडियो प्रदर्शन गरिएको थियो।

प्रमुख अतिथि फेङले नेपाल र चीनबीचको सम्बन्ध आपसी विश्वास, मित्रता र सम्मानमा आधारित रहेको उल्लेख गर्दै नेपाल चीनको असल मित्र राष्ट्र भएको बताउनुभयो। उहाँले दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएको उल्लेख गर्नुभयो। नेपाल भ्रमण, व्यापार तथा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गर्दै सिचाङ सरकारले नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महावाणिज्यदूत निरौलाले कार्यक्रमले नेपालको व्यापार, पर्यटन र लगानीका अवसरबारे चिनियाँ सरकारी तथा निजी क्षेत्रलाई जानकारी गराउने उद्देश्य पूरा गरेको बताउनुभयो। उहाँले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने नीति पुनः व्यक्त गर्नुभयो। नेपाल–चीन सम्बन्ध ऐतिहासिक विश्वास, सहयोग र सद्भावमा आधारित रहेको उल्लेख गर्दै उहाँले चीन सरकार तथा चिनियाँ जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमअघि कार्यकारी उपाध्यक्ष फेङ र महावाणिज्यदूत निरौलाबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा सीमा पूर्वाधार विकास, सीमा नाकामा आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, तिब्बतमा बसोबास गर्ने नेपालीको व्यवसाय तथा आवागमन सहज बनाउने, नेपाली नागरिकका लागि भिसा तथा तिब्बत प्रवेश अनुमति प्रक्रियामा थप सहजीकरण गर्न अनुरोध गरिएको थियो। साथै ल्हासास्थित सरस्वती मन्दिर तथा सिगात्सेस्थित भीमसेन मन्दिरको नेपाली शैलीमा जीर्णोद्धारका लागि सहयोग गर्न आग्रह गरिएको थियो।

भेटवार्तामा कार्यकारी उपाध्यक्ष फेङले सीमा व्यवस्थापनमा सहयोग गर्न चीन तयार रहेको बताउनुभयो। उहाँले ऐतिहासिक सरस्वती र भीमसेन मन्दिरको संरक्षण तथा जीर्णोद्धारका लागि पहल गर्ने तथा रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको जानकारी दिनुभयो।

Facebook Comments