सीजिटिएन नेपाली सेवा प्रसारणको ५१ वर्ष पुरा, दर्जनौं पुराना तथा सक्रिय श्रोताद्वारा शुभकामना
CRI
रमेश हतुवाली/विराटनगर । चाईना ग्लोवल टेलिभिजन नेटवर्क (CGTN) नेपाली सेवाले नियमित प्रसारणको ५१ वर्ष पुरा गरेको छ ।
सन् १९७५ जुन २५ तारिखका दिन तत्कालिन रेडियो पेकिङले नेपाली विभागको स्थापना गरी नियमित प्रसारण प्रारम्भ गरेको थियो । चीन र नेपालबीचको सम्बन्धलाई रेडियो प्रसारणको माध्यमबाट जनस्तरसम्म अभिवृद्धि गर्ने उद्धेश्यले चीन सरकारले नेपाली विभागको स्थापना गरी समाचार र विभिन्न कार्यक्रमहरु प्रसारण गर्न सुरु गरेको ५१ वर्ष पुरा भएको छ । यस अवधिमा नेपाली विभागले नेपाल, भारत, भुटान, मलेसिया, सिंगापुर, कतार, साउदी अरेविया, बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान लगायत विश्वका विभिन्न देश तथा क्षेत्रमा बस्ने नेपाली समुदायमाझ उच्च लोकप्रियता हासिल गरेको छ ।
नेपाली भाषा र संस्कृतिको प्रचार प्रसारमा तत्कालिन रेडियो पेकिङले समयको माग अनुसार नाम परिवर्तन गर्दै जाँदा रेडियो बेईजिङ, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) र वर्तमान अवस्थासम्म आउँदा सीजिटिएन नेपाली सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
नेपालमा सीआरआईका प्रसारण सुन्ने नियमित र सक्रिय श्रोताको संख्या विगतमा झण्डै २० लाखको हाराहारीमा पुगेको नेपाली विभागका पहिलो पुस्ताका कार्यक्रम सञ्चालकहरुले बताएका छन् ।
नेपाल र चीनबीचको सम्बन्धलाई श्रोता कल्वहरुको माध्यमबाट जनस्तरसम्म पुर्याउन सन् १९९६ मे १८ तारिखमा स्थापना भएको सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालमा ७५० वटा भन्दा बढी श्रोता कल्वका प्रतिनिधीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपालले श्रोता क्लबहरुको छाता संगठनको रुपमा स्थापनाको ३० वर्षको अवधिमा राष्ट्रिय स्तरका दर्जनौ महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरेको छ ।
हङ्गकङ्ग मातृभूमी चीनमा समाहित हुँदाका अवसरमा परिषद्ले आयोजना गरेको कार्यक्रम नेपालमा एउटै मात्र राष्ट्रिय स्तरको कार्यक्रम थियो । त्यसैगरी मकाउ चीनमा समाहित हुँदा पनि यस परिषद्ले भव्य कार्यक्रमको आयोजना गरेको थियो । प्रत्येक वर्षको जून २५ तारिखका दिन सी.आर.आई. नेपाली विभागको स्थापनाको अवसरमा परिषद्ले विभिन्न कार्यक्रमहरु गर्दछ भने नेपाल–चीन दौत्य सम्वन्ध स्थापना दिवस(१ अगस्त), नयाँ चीन स्थापनाको वार्षिकोत्सव (अक्टोवर १), सी.आर.आई.को स्थापना दिवस (डिसेम्वर ३) का अवसरमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्दै आएका छन् ।
सीजीटिएन नेपाली सेवाले नियमित प्रसारणको ५० वर्ष पुरा गरी ५१ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सीजिटिएनका अत्यन्त पुराना, सक्रिय र नियमित दर्जनौं श्रोताले शुभकामना सन्देश दिनु भएको छ । सीआरआई लिसनर्स ईन नेपालको फेसबुक पेजमा शुभकामना सन्देश दिनुहुने श्रोताले सीजीटिएन नेपाली सेवाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै श्रोता र सीजीटिएनबीचको सम्बन्ध आगामी दिनहरुमा अझ सुमधुर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालका संस्थापक अध्यक्ष तथा रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले शुभकामना सन्देश दिनुहुँदै सन् १९७५ जुन २५ तारीखका दिन रेडियो पेकिङबाट सुरु भएको नेपाली सेवाको प्रशारणसंगै जोडिएको सीजिटिएन र श्रोतासँगको सम्बन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको बताउनु भएको छ । अध्यक्ष पौडेलले शुभकामना सन्देशमा भन्नु भएको छ, सीआरआई नेपाली विभाग (हाल) CRI नेपाली सेवाको ५१ औ बार्षिक उत्सवको ऐतिहासिक अवसरमा नयाँ तथा पुराना मित्रहरूलाई हार्दिक बधाई तथा मीठो सम्झना प्रकट गर्दछु । सन १९७५ जुन २५ तारीखका दिन रेडियो पेकिङबाट सुरु भएको नेपाली सेवाको प्रशारणसंगै हामीहरु माझ पनि वलियो र आत्मिय मित्रता गाँसिएको थियो । अहिलेसम्म पनि हामीहरुको मित्रता निरन्तर कायमै छ ।
यसैगरी सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व अध्यक्ष तथा नेपाल चीन जनमैत्री परिषदका अध्यक्ष लोकेन्द्र काफ्ले, परिषद्का पूर्वकार्यकारी अध्यक्ष टीकाराम घिमिरे, उपाध्यक्ष काजीराम गौतम, पूर्व तथा वर्तमान केन्द्रीय सदस्यहरु उमेश रेग्मी, हुम बहादुर खड्का, दीपक नेपाल, नवराज आचार्य, दुर्गा घिमिरे, सोमनाथ भट्टराई, युक्त प्रसाद श्रेष्ठ, डा. नविन चापागाई, होमनाथ आचार्य, नारायण प्रसाद पोख्रेल लगायतले शुभकामना दिनुभएको छ ।
यसैबीच सीजिटिएन नेपाली विभागका प्रमुख लिउ वेन सुमेघाले शुभकामना सन्देश पठाउँनुहुँदै श्रोता र सीजिटिएन नेपाली विभागबीचको सम्बन्ध आगामी दिनमा अझ वलियो र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा दुवै पक्ष मिलेर मित्रतालाई अझ टाढा टाढा सम्म फैलाउन सकौं भन्ने कामना व्यक्त गर्नुभएको छ । आज बिहान सबेरैदेखि निरन्तर रुपमा एकपछि अर्को गर्दै श्रोता साथीहरुले दिनु भएको शुभकामना सन्देशले आफुलाई गौरवान्वित तुल्याएको प्रमुख सुमेघाको भनाइ छ ।

