Fri. Jun 12th, 2026

मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

       

काठमाण्डू । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । उहाँहरुबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोगलगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोगको अपेक्षा गर्नुभयो । साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताउनुभयो । रासस

Facebook Comments