उत्तर कोरियाको आणविक दौड तीव्र
सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केतस्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने लक्ष्य दोहोर्उनुभएको छ, जसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको छ ।
दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम संवर्धन संयन्त्रका रूपमा मूल्याङ्कन गरेको जनाएको छ । दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ, यद्यपि उक्त स्थलसम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ सुविधामा ‘अझ परिष्कृत प्रविधि’ प्रयोग गरिएको छ । तर संयन्त्रको ठ्याक्कै स्थान, यसको उत्पादन क्षमता वा सञ्चालन सुरु भएको मिति खुलाइएको छैन । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा हतियार–स्तरको युरेनियम उत्पादनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको ठूलो हल देखिन्छ, जसले उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार भइरहेको सङ्केत दिन्छ ।
नयाँ संयन्त्रको सार्वजनिकसँगै किमले पछिल्ला वर्षहरूदेखि अघि बढाउँदै आएको आणविक हतियार कार्यक्रम विस्तार गर्ने नीतिलाई थप स्पष्ट पार्नुभएको छ । उहाँले अमेरिका नेतृत्वको सुरक्षा चुनौती र सैन्य दबाबलाई उत्तर कोरियाले आफ्नो आणविक क्षमता बढाउनुको मुख्य कारणका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।
केसीएनएका अनुसार किमले बुधबार उक्त आणविक केन्द्रको भ्रमण गरी सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिनुभएको थियो । भ्रमणका क्रममा उहाँले देशको आणविक प्रतिरोध क्षमता गुणस्तर र परिमाण दुवै हिसाबले अझ सुदृढ बनाउनुपर्ने आवश्यकता अझ बढ्दै गएको बताउनुभएको थियो ।
समाचार संस्थाले किमको भनाइ उद्धृत गर्दै उत्तर कोरिया ‘सबैभन्दा हिंसक शत्रुहरू’ सँग सामना गरिरहेको उल्लेख गरेको छ । यसलाई व्यापक रूपमा अमेरिका र दक्षिण कोरियातर्फ लक्षित टिप्पणी मानिएको छ । उहाँले बदलिँदो सुरक्षा वातावरण, विभिन्न खतराहरू र अन्तर्राष्ट्रिय सङ्कटलाई पनि आणविक क्षमता विस्तारको औचित्यका रूपमा प्रस्तुत गर्नुभएको छ ।
केसीएनएले उत्तर कोरियाको हतियार–स्तरको आणविक सामग्री उत्पादन क्षमता पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको दाबी गरेको छ । यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। त्यसैगरी, किम र अन्य वरिष्ठ अधिकारीहरूले देशको आणविक क्षमता उल्लेखनीय रूपमा बढाउने दीर्घकालीन महत्त्वाकांक्षी योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ ।
सार्वजनिक गरिएका तस्बिरहरूमा किम चाँदी रङका ट्युब र पाइपहरूले भरिएका सेन्ट्रिफ्युज हलजस्ता संरचनाबीच निरीक्षण गरिरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँ वरिष्ठ अधिकारीहरूसँग बैठकमा सहभागी देखिनुभएको छ । बैठक कक्षमा राखिएको एउटा अस्पष्ट चित्रमा बमको अग्रभागजस्तो देखिने वस्तु देखिएको थियो, तर त्यो आणविक हतियारको नमूना हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।
उत्तर कोरियाले सेप्टेम्बर २०२४ मा अर्को गोप्य युरेनियम संवर्धन केन्द्र सार्वजनिक गरेको दुई वर्षभन्दा कम अवधिमा यो नयाँ खुलासा गरेको हो । सन् २०१० मा अमेरिकी आणविक विज्ञहरूलाई योङब्योनस्थित प्रमुख आणविक परिसर अवलोकन गराएपछि यस्ता सुविधाहरू सार्वजनिक रूपमा देखाइएको यो क्रम निरन्तर जारी छ ।
किमले सन् २०२४ मा पनि यस्तै एउटा संवर्धन केन्द्रको भ्रमणका क्रममा देशको आणविक शस्त्रागारलाई ‘द्रुत गतिमा’ विस्तार गर्न सेन्ट्रिफ्युजहरूको सङ्ख्या बढाउन र अझ उन्नत प्रविधिको विकास गर्न निर्देशन दिनुभएको थियो । यसपटकको घोषणा पनि त्यही रणनीतिक दिशाको निरन्तरता मानिएको छ ।
उत्तर कोरियाले सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ । तीमध्ये केही मिसाइलहरू एसियास्थित अमेरिकी सहयोगी राष्ट्रहरू मात्र नभई अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिएको छ । साथै किमले आणविक हतियारको मौज्दात बढाउन निरन्तर जोड दिँदै आउनुभएको छ ।
दक्षिण कोरियाका एक वरिष्ठ अधिकारीले सन् २०१८ मा सांसदहरूलाई जानकारी दिँदै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक हतियार हुन सक्ने अनुमान प्रस्तुत गर्नुभएको थियो । तर पछिल्ला वर्षहरूमा केही अन्तर्राष्ट्रिय विज्ञहरूले उत्तर कोरियाको आणविक भण्डार १०० भन्दा बढी हतियारसम्म पुगिसकेको हुन सक्ने आकलन गरेका छन् । उत्तर कोरियाले प्रत्येक वर्ष थप छ देखि १८ वटासम्म आणविक हतियार उत्पादन गर्न सक्ने अनुमान पनि सार्वजनिक हुँदै आएको छ ।
गत वर्ष दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ-युङले उत्तर कोरियाले योङब्योनसहित कम्तीमा चारवटा युरेनियम संवर्धन केन्द्र सञ्चालन गरिरहेको र ती नियमित रूपमा सक्रिय रहेको बताउनुभएको थियो ।
आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम वा प्लुटोनियम आवश्यक पर्छ । उत्तर कोरियासँग योङब्योन आणविक परिसरमा यी दुवै प्रकारका सामग्री उत्पादन गर्ने क्षमता रहेको मानिन्छ ।
विश्लेषकहरूका अनुसार सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको उच्चस्तरीय आणविक कूटनीति विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आफ्नो आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको छ । त्यसयता अमेरिकाले वार्ता पुनः सुरु गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनुभएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले अप्रिलमा पत्रकारहरूसँग कुरा गर्दै उत्तर कोरियाका आणविक केन्द्रहरूमा गतिविधि उल्लेखनीय रूपमा बढेको पुष्टि गर्नुभएको थियो । उहाँका अनुसार एजेन्सीले उत्तर कोरियाको आणविक कार्यक्रमसँग सम्बन्धित विभिन्न स्थलहरूमा ‘द्रुत वृद्धि’ देखिएको तथ्य अवलोकन गरेको छ, जसले प्योङयाङ आफ्नो आणविक कार्यक्रमलाई अझ व्यापक बनाउने दिशामा अघि बढिरहेको सङ्केत गर्दछ । एपी

