डा. खड्काको ‘म बनाउँछु मेरो देश’ विमोचन
कर्णाली । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काको कविता सङ्ग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन गरिएको छ ।
विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’का अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कृतिको विमोचन गरिएको हो । नेपाल सरकारका निवर्तमान वन तथा वातावरणमन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
विमोचन कार्यक्रममा लेखक तथा निवर्तमान मन्त्री चौलागाईंले उक्त कृतिले समकालीन समाज, राष्ट्रनिर्माण र युवापुस्ताको चेतनालाई अभिव्यक्त गरेको बताउनुभयो । उपकुलपति प्रा. डा. गौतमले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै खड्काको कृतिले सकारात्मक सोच, राष्ट्रिय भावनाको विकास तथा सिर्जनशीलताको प्रवद्र्धनमा टेवा पुर्याउने जनाउनुभयो ।
कवि डा. खड्काले आफ्नो कृतिबारे प्रकाश पार्दै देशप्रतिको जिम्मेवारी बोध र सिर्जनात्मक अभिव्यक्तिलाई केन्द्रमा राखेर कविता सङ्ग्रह तयार पारिएको बताउनुभयो । उहाँले साहित्यमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाहका निम्ति आफ्नो प्रयास निरन्तर रहिरहने धारणा व्यक्त गर्नुभयो ।
विमोचन कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, रजिस्टार प्रा. डा. शोभाखर कँडेल, भाषा, साहित्य र कला, संस्कृतिका विद्वानद्वय प्रा. डा. जीवेन्द्रदेव गिरी, प्रा. डा. रामप्रसाद भट्टराईलगायत प्राज्ञ, लेखक तथा अध्येताहरूको सहभागिता थियो । रासस

