अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
इस्लामावाद, (पाकिस्तान) । आगामी दिनमा अमेरिका र इरानबीच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उहाँले लेख्नुभएको छ, “मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदैछन् र उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् ।”
पाकिस्तानी अधिकारीहरूले यसअघि इश्लामावाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबीच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् ।
सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् ।
“नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ,” शहरका एक अधिकारीले एक्समा पोस्ट गर्नुभयो । एएफपी

