Mon. Apr 20th, 2026

महिला गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

       
भद्रपुर (झापा) । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साइ पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । निर्धारित ८० मिनेटको खेलमा चर्च ब्वाइजले भूटानको थिम्पु सिटी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको २७औँ मिनेटमा मरियम खातुनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाइन् । भूटानकी गोलकिपर अगाडि बढेको अवस्थामा खातुनले डिबक्स बाहिरबाट गरेको प्रहार जाली चुमेको थियो । पहिलो हाफको अतिरिक्त समयमा खातुनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीलाई २-० को अवस्थामा पुर्‍याइन् ।
दोस्रो हाफको ४४औँ मिनेटमा भूटानकी रोता राईले गोल गर्दै टोलीलाई खेलमा फर्काइन् । त्यसपछि ५८औँ मिनेटमा प्रिया घलेको क्रस क्लियर गर्ने क्रममा चर्चकी डिफेन्डर मनिता तामाङबाट आत्मघाती गोल हुन पुग्दा खेल २-२ को बराबरीमा पुग्यो ।
निर्णायक गोल खेलको ७९औँ मिनेटमा वर्षा ओलीले गरिन् । मध्यभागबाट पाएको बललाई गोलकिपरलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएपछि चर्च ब्वाइजले ३-२ को महत्वपूर्ण जित दर्ता गर्‍यो । खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजकी मरियम खातुन घोषित भइन् । उनले नगद रु ११ हजार प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ । रासस
Facebook Comments