Fri. Apr 17th, 2026

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

       

वासिङ्टन । इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ । यही सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका विदेशमन्त्री यभेट कुपरबीच भएको छलफलले आगामी कूटनीतिक कदमहरूलाई थप स्पष्ट बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता टोमी पिगटका अनुसार रुबियोले कुपरसँग टेलिफोन संवाद गर्दै इरानसँग भएको युद्धविरामसँग सम्बन्धित पछिल्ला अवस्थाहरूको समीक्षा गर्नुभएको हो । छलफलमा विशेषगरी स्ट्रेट अफ होर्मुजमा समुद्री सुरक्षाको अवस्था र त्यहाँ अवरुद्ध भएको अन्तर्राष्ट्रिय जलमार्गलाई कसरी सुरक्षित र खुला बनाउने भन्ने विषयमा जोड दिइएको थियो ।

दुवै पक्षले जल डमरूमध्यमा नौवहन स्वतन्त्रता तत्काल पुनःस्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै व्यावसायिक जहाजहरू सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा सहमति जनाएका छन् । यसले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला अवरोध बिना सञ्चालन हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वासिङ्टन र तेहरानबीच भएको युद्धविराम अप्रिल २२ मा समाप्त हुने तय गरिएको छ । यस्तो अवस्थामा यसको भविष्य र विस्तारबारे अझै अनिश्चितता कायमै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम विस्तार आवश्यक पर्छ कि पर्दैन भन्नेबारे स्पष्ट धारणा नरहेको बताउँदै हालसम्मका वार्ताप्रति आशावादी रहेको सङ्केत गर्नुभएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिका र इरानबीचको संवाद सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार इरान अहिले दुई महिनाअघि तयार नभएका विषयहरूमा विशेषगरी आणविक हतियारसम्बन्धी विषयमा पनि सहमत हुन इच्छुक देखिएको छ । अमेरिका भने इरानसँग अन्तिम सम्झौतामा पुग्न केन्द्रित रहेको उहाँको भनाइ छ ।
यसैबीच, युरोपेली नेतृत्वले पनि होर्मुजको जल डमरूमध्य पुनः सञ्चालनमा ल्याउने पहललाई गति दिन थालेको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विश्व नेताहरूको भर्चुअल बैठक आयोजना गर्ने तयारी गर्नुभएको छ, जसमा करिब ४० देशका सहभागी हुने अपेक्षा गरिएको छ ।

बैठकमा इरानसँग भएको नाजुक युद्धविरामलाई समर्थन गर्दै प्रमुख समुद्री मार्गहरू सुरक्षित राख्ने उपायहरूमा छलफल गरिनेछ । बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार जल डमरूमध्य पुनः खोल्न अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी एक प्रकारको सुरक्षा मिसन गठन गर्ने प्रस्ताव पनि छलफलमा रहनेछ ।

उक्त प्रस्तावित मिसन रक्षात्मक स्वरूपको हुने र आवश्यक परे संयुक्त सैन्य प्रयासमार्फत कार्यान्वयन गरिने सम्भावना रहेको बताइएको छ । साथै जहाज र चालक दलको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुद्री सङ्गठनसँग सहकार्य गर्ने विषय पनि प्राथमिकतामा राखिएको छ ।

स्टार्मर पेरिस पुगेर म्याक्रोनसँग सह-आयोजनामा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ भने जर्मन चान्सलर फ्रेडरिक मर्जको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ । बैठकमा जल डमरूमध्य तत्काल र बिना सर्त पुनः खोल्नु विश्वव्यापी जिम्मेवारी भएको धारणा प्रस्तुत गरिने तयारी गरिएको छ ।

विश्लेषकहरूका अनुसार होर्मुजको अवरोधले ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष असर पारेकाले यसको समाधानका लागि बहुपक्षीय पहल अपरिहार्य बनेको छ । यस्तो अवस्थामा अमेरिका, युरोप र क्षेत्रीय शक्तिहरूबीचको समन्वयले आगामी दिनमा युद्धविरामको स्थायित्व र समुद्री सुरक्षाको अवस्थालाई निर्णायक रूपमा प्रभावित गर्न सक्ने देखिएको छ । एएनआई

Facebook Comments