Sat. Apr 18th, 2026

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

       

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेका छन् ।

युद्धरत पक्षका अनुसार युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्यपछि पुनः आक्रमण भएको हो । दक्षिणी युक्रेनी बन्दरगाह शहर ओडिसामा भएको मिसाइल तथा ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले टेलिग्राम मार्फत जनाउनु भएको छ ।

राजधानी किएभमा भएको आक्रमणमा १२ वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको सहरका मेयर भिटाली क्लिट्स्कोले बताउनुभएको छ । युक्रेनको आपतकालीन सेवाले विस्फोटले भवन र कारमा आगलागी हुनुका साथै क्षति पुगेको जनाएका छन् । मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा तीन जनाको मृत्यु भएको क्षेत्रीय प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले टेलिग्राममार्फत बताउनु भएको छ । आक्रमणका क्रममा रूसी पक्षका, दुई बच्चाको मृत्यु भएको गभर्नर भेनियामिन कोन्ड्रातयेभले बाताउनु भएको छ ।

युक्रेनमा रूसले रातारात गरेको आक्रमण अघि राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो । किएभमा भएको आक्रमणमा कम्तीमा ४५ जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुमा अधिकाशं चिकित्सकहरू रहेको मेयर क्लिट्स्कोले बताउनु भएको छ । युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको ड्रोन आक्रमणमा एक महिला र एक पुरुष घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले टेलिग्राम मार्फत बताउनु भएको छ । एएफपी 

Facebook Comments