Sun. May 31st, 2026

सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग, भेनेजुयलामा थप कारबाही नहुने अमेरिकाको भनाइ   

       

काराकस । काराकसलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ ।

जनवरी ३, २०२६ मा काराकसमा भएको श्रृंखलाबद्ध विस्फोट पछि भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य परिसर फुएर्टे ट्युनामा भएको आगलागी टाढाबाट देखिएको छ। अमेरिकी मिडियाले शनिबार भेनेजुएलाको राजधानी काराकसमा भएको श्रृंखलाबद्ध हमलाको पछाडि अमेरिकी सेनाको हात रहेको रिपोर्ट गरेको छ। ह्वाइट हाउस र पेन्टागनले शहरमाथि भएको विस्फोट र विमानको रिपोर्टमा कुनै टिप्पणी गरेका छैनन्। अमेरिकी मिडिया आउटलेटहरू सीबीएस न्यूज र फक्स न्यूजले ट्रम्प प्रशासनका अधिकारीहरूको नाम नखुलाइ अमेरिकी सेना संलग्न भएको पुष्टि गरेको रिपोर्ट गरेका छन्। (फोटो एएफपी द्वारा)

भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान सबैले गर्नुपर्ने भन्दै यसका लागि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन माग गर्नुभएको छ ।

भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताउनुभएको थियो ।

यद्यपि, न्यूयोर्क टाइम्ससँगको संक्षिप्त फोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा ‘नार्को–आतंकवाद षड्यन्त्र’ विरूद्धको आक्रमण सफल भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “वास्तवमा यो एक शानदार कारबाही थियो ।”

उहाँले अगाडी थप्नुभयो, “भेनेजुएलामा धेरै राम्रो योजना र धेरै महान् काम भएको छ । सेनाले महान् काम गरेको छ ।”

उहाँले आक्रमणका लागि संसद् (कङ्ग्रेस) को अनुमोदन माग्नुभएको थियो कि थिएन भन्ने प्रश्नको जवाफ भने दिनुभएन ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतंकवाद षड्यन्त्र’, कोकिन आयात गर्ने षड्यन्त्र र मेसिनगन आपुर्तिसँग सम्बन्धित आरोपमा अभियोग लगाइएको बताउनुभएको छ ।

“उनीहरूले चाँडै अमेरिकी अदालतमा अमेरिकी भूमिमा अमेरिकी न्यायको पूर्ण क्रोधको सामना गर्नुपर्नेछ,” बोन्डीले एक्समा लेख्नुभएको छ ।

मदुरोविरुद्ध सन् २०२० मा अभियोग दर्ता गरिएको थियो भने उक्त अभियोग पत्रमा उहाँकी पत्नीमाथि पनि अभियोग लगाइएको थियो । ट्रम्पको प्रशासनले अगस्टमा उहाँलाई पक्राउ गर्ने सूचनाको लागि पुरस्कारलाई दोब्बर बनाएर पाँच करोड अमेरिकी डलर पु¥याएकोे थिया उहाँविरूद्ध कथित ‘कार्टेल अफ द सन’ नामक लागूऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाएको थियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धृत गर्दै एक सिनेटरले भन्नुभयो, “मदुरो अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलामा अब कुनै कारबाही हुने छैन ।”

माइक लीले भन्नुभयो, “भेनेजुएलामा आक्रमण ‘पक्राउ पूर्जी कार्यान्वयन गर्नेहरूको रक्षा र सुरक्षा’ गर्न बनाइएको थियो । मदुरो अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलामा अब कुनै कारबाही हुने छैन ।”

यसैबीच, रुबियोले सामाजिक सञ्जालमा यस बर्षको सुरूदेखि पैषित सन्देश पुनः पोस्ट गर्दै अमेरिकाको भेनेजुयलाका राष्ट्रपति मदुरोविरूद्धको अभियानको स्मरण गराउनुभएको छ।

विदेशमन्त्री रुबियोबाट प्रेषित भएका सन्देशमा मदुरो भेनेजुएलाको वैध राष्ट्रपति नभएको, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएको र चुनावहरू अनियमितताले भरिएको भन्ने दावी गरिएका छन् ।

अमेरिकी उप-विदेशमन्त्री क्रिस्टोफर ल्यान्डौले एक्समा लेख्नुभएको छ, “भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ को सुरूवात भएको, तानाशाहको अन्त्य भएको र मदुरोले आफ्नो अपराधका लागि न्यायको सामना गर्नुपर्नेछ।” एएफपी

Facebook Comments