Fri. Oct 18th, 2024

ताजा जनादेशमा जाने कदम बाध्यात्मक: मुख्यमन्त्री पोखरेल

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको विकल्प बाध्यात्मक रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सरकारमा र पार्टीमा काम गर्न नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने कदम चालिएको पोखरेलको भनाइ छ ।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सामाजिक सञ्जालमार्फत आइतबार साँझ प्रतिक्रिया जारी गर्नुभएका ओली निकट नेता पोखरलेलले लेख्नु भएको छ, “पार्टी एकताको मर्म विपरीतको समिकरण, पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो ।”

कान्तिपुर अनलाईनका अनुसार अहिलेको संसदीय समीकरणमा प्रधानमन्त्रीलाई काम गर्न असहज भएको उल्लेख गर्दै पोखरेलले लेख्नु भएको छ, “पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पुर्‍याउन सक्छ । गम्भीर र जिम्मेवार बनौं ।”

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको ७ जना मन्त्री र सत्तारुढ नेकपाका साथै सबै राजनीतिक दलहरूले विरोध गरिरहेका बेला ओली निकटका नेताहरूले भने त्यसको बचाउ गरिरहेका छन् ।

Facebook Comments