सर्लाहीका उखु किसानले आज माइतीघरमा प्रदर्शन गर्ने
फाईल फोटो
काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार
चिनी मिलहरुबाट भुक्तानी नपाएपछि सर्लाहीका उखु किसानहरुले आज विहान ११ वजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।
गत वर्ष पनि रकम भुक्तानीको माग राख्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि उनीहरु फर्किएका थिए ।
चुचेढुंगो उही टुंगो भने जस्तै यस वर्ष पनि आन्दोलन नगरि भुक्तानी पाउने संभावना नदेखेपछि आफुहरु काठमाडौं आएको सर्लाहीका किसान राकेश मिश्रले बताउनुभयो । मिश्रका अनुसार केही किसानहरु शनिवारै काठमाडौं आईसकेका छन् भने केही आज विहानसम्ममा आईपुग्ने छन् । प्राप्त जानकारी अनुसार आज झण्डै एक हजार जना किसानले माईतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।
तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

