Mon. Apr 20th, 2026

भोजपुर खोक्सिकमा केन्द्रीय विद्युत पहुँच   

भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका वडा नम्वर ८ स्थित खोक्सिक गाउँ

       

भोजपुर ।  जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।

विद्युत विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि चाडै विद्युत विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताउनुभयो ।

“यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ” उहाँले भन्नुभयो, “यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पु¥याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।”

केन्द्रीय विद्युत विस्तार भएपछि वषौँदेखीको टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताउनुभयो । पुस्ताँैबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको उहाँले बताउनुभयो । विद्युत विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उहाँको भनाइ छ ।

“हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ” उहाँले भन्नुभयो, “विद्युत विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।”

दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताउनुभयो । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उहाँको भनाइ छ ।

“विद्युत नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ” उहाँले भन्नुभयो, “विद्युत विस्तारपछि हामी धेरै खुसी छाँ । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।” रासस

Facebook Comments