चीनका उपराष्ट्रपति हान चङ र पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरबीच भेटवार्ता
काठमाण्डू । चीनका उपराष्ट्रपति हान चङ र पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरबीच भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणका लागि पैचिङ पुग्नु भएका पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरले आज उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्नुभएको हो । चीन र पाकिस्तान फलामे मित्र र सर्वकालीन रणनीतिक सहयोगी तथा साझेदार भएको बताउनुहुँदै उपराष्ट्रपति हान चङले द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय पारस्परिक विश्वास, चुनौतीहरूको सामूहिक रुपमा सामना, एकता तथा साझा भविष्यमा चीन र पाकिस्तानबीच गहिरो सहकार्य भएको बताउनुभयो ।
उपराष्ट्रपति हान चङले दुई देशका नेताहरूले हासिल गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, सर्वकालीन मित्रतालाई गहिरो बनाउन, सर्वकालीन सहयोग विस्तार गर्न र नयाँ युगमा साझा भविष्यका साथ नजिकको चीन-पाकिस्तान समुदायको निर्माणलाई तीव्र बनाउन पाकिस्तानसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताउनुभयो ।
भेटवार्तामा बोल्नुहुँदै पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरले चीनसँग मैत्रीपूर्ण सहयोग विकास गर्नु सम्पूर्ण पाकिस्तानी समाजको सहमति हो भन्ने कुरा उल्लेख गर्नुभयो । साथै मुनिरले चीनका तीनवटा विश्वव्यापी पहलहरूलाई समर्थन गर्न पाकिस्तान चीनसँग दृढतापूर्वक उभिएको जानकारी दिनुभयो ।
सीसीटिभीका अनुसार पाकिस्तानी सेना दुई देशका नेताहरूले हासिल गरेका सहमतिलाई थप कार्यान्वयन गर्न र पाकिस्तान तथा चीन बीचको सर्वकालीन रणनीतिक सहयोगी साझेदारीलाई निरन्तर गहिरो बनाउन तयार रहेको पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरको भनाई छ ।

