Wed. Apr 29th, 2026

बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन     

       

ढाका । बङ्गलादेश आगामी वर्ष हुने निर्वाचनको तयारीमा रहेको बेला निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्दै बङ्गलादेशको प्रमुख इस्लामी पार्टीका दशौँ हजार समर्थकले शनिबार जुलुश प्रदर्शन गरेका छन् ।

गत वर्ष भएको जनविद्रोहमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि जमात–ए–इस्लामी पार्टीले देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ ।

आफ्नो कार्यकालमा हसिनाले जमातविरुद्ध कडा अडान लिनुभएको थियो र राजनीतिक दलको रूपमा यसको दर्तासमेत रद्द भएको थियो ।

दशकौँदेखि जमातलाई सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो ।

गत महिना सर्वोच्च अदालतले पार्टी दर्तालाई पुनस्र्थापित गर्दै आगामी अप्रिलमा हुने चुनावमा भाग लिन जमातलाई मार्ग प्रशस्त गरेको थियो ।

“विगत १५ वर्षमा हामीले धेरै दुःख भोगेका छौं । हामी जेल गयौँ, हाम्रो राजनीतिक अधिकार खोसिएको थियो,” २९ वर्षीय पार्टी कार्यकर्ता मोहम्मद अब्दुल मन्नानले एएफपीसँग भन्नुभयो ।

राजधानीमा चर्को गर्मीको सामना गरिरहेका प्रदर्शनकारीहरूले निर्वाचन क्षेत्रमा सिटको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शनमा सहभागिता जनाएका थिए ।

मन्नानले भन्नुभयो, “संसद्मा सहभागितामूलक प्रतिनिधित्वसहित हाम्रा सात बुँदे मागलाई दरिलो पार्न हामी यहाँ जनसमुदायबीच भेला भएका छौँ ।

उहाँले भन्नुभयो, “हाम्रा माग पूरा नभएसम्म निर्वाचन हुँदैन ।”

स्वतन्त्रतापछि प्रतिबन्ध लगाइएको जमात पार्टीले सन् १९९१ मा १८ सिट जितेर आफ्नो उत्कृष्ट चुनावी प्रदर्शन गरेको थियो ।

यो पार्टी सन् २००१ मा गठबन्धन सरकारमा सामेल भएको थियो, तर स्थायी तथा लोकप्रिय समर्थन निर्माण गर्न असफल भएको थियो ।

मन्नानले भन्नुभयो, “हामी समानुपातिक प्रतिनिधित्व प्रणाली चाहन्छौं ताकि विजेताहरूले सबै लिन नसकोस् तर हामी पनि आवाजको हकदार छौँ ।”

राजधानी ढाकास्थित सुहरावर्दी उद्यान स्मारकमा मध्याह्नदेखि नै दशौं हजार प्रदर्शनकारीको भीड लागेको थियो ।

प्रदर्शनकारीले पार्टीको लोगो अङ्कित टिसर्र्ट, पार्टीको नाम अङ्कित ‘हेडब्यान्ड’ र पार्टीको चुनाव चिह्न स्केलको आकारको धातुको बिल्ला लगाएका थिए ।

पार्टीका नेता ५८ वर्षीय मोहम्मद शफिकुल इस्लामले बङ्गलादेश नेशनलिस्ट पार्टीको गढ मानिने बोगुरामा प्रदर्शनमा सहभागिता जनाउनुभएको थियो ।

“मलाई लाग्यो, एक मुस्लिमको रूपमा उपस्थित हुनु मेरो कर्तव्य हो। जमात–ए–इस्लामीले इस्लामिक देश स्थापना गर्ने वाचा गरेको छ, त्यसैले म आएको हुँ,” शफिकुलले एएफपीसँग भन्नुभयो ।

सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा जमात–ए–इस्लामीले इस्लामाबादलाई समर्थन गरेको थियो।

बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जमात–ए–इस्लामीका कैयौँ वरिष्ठ नेतालाई युद्धमा भूमिका खेलेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

धेरै बङ्गलादेशीहरू जनताको विश्वास पुनः प्राप्त गर्न र एक व्यवहारिक चुनावी शक्ति बन्नका लागि पार्टीले आफ्नो विगतलाई स्वीकार्नु पर्दछ भन्ने विश्वास गर्छन्। तर जुलुशका सहभागिहरूले भने फरक धारणा राखेका थिए ।

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै ३३ वर्षीय एक निजी सेवाधारीले भने, “जमातलाई अन्यायपूर्ण तरिकाले दोष लगाइएको छ । यसले राष्ट्रको अखण्डतालाई कायम राख्नेबाहेक केही गरेन ।”  एएफपी

Facebook Comments

सम्बन्धित समाचार