Sun. May 19th, 2024

नेकपाका अध्यक्षद्वयको बैठक सकियो, सांगठनिक एकताको काम चाँडै सक्ने प्रतिवद्धता

काठमाडौं, २०७७ असोज २२ गते बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक सकिएको छ । बैठकमा पार्टीको सांगठनिक एकताका बाँकी काम चाँडै सम्पन्न गर्ने प्रतिवद्धता अध्यक्षद्वयले जनाउनुभएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार आज विहिबार बसेको बैठकमा दुई अध्यक्षबीच पार्टीको सांगठनिक एकता प्रक्रियाको बाँकी काम चाँडै सक्काउने विषयमा केन्द्रित भएर छलफल भएको छ । दुवै अध्यक्षले सचिवालय बैठकले दिएको जिम्मेवारीअनुसार काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको सापकोटाले बताउनुभयो ।

यसअघि असोज ६ गतेको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा पदपूर्ति तथा पार्टीको सांगठनिक एकतामा दुई अध्यक्षबीच गृहकार्य गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो । अन्तरपार्टी निर्देशनमा समेत दुबैजना अध्यक्षले असोज मसान्तभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाइसक्नु भएको छ ।

प्रेस सल्लाहकार सापकोटाकाअनुसार मध्यान्ह १२ बजेदेखि शुरुभएको बैठक अढाई बजे सकिएको थियो । नियमित बसिरहेको दुई अध्यक्षबीचको बैठकले चाँडै ठोस प्रस्ताव तयार गर्ने आशा सचिवालयका सदस्यहरुले गर्नुभएको छ भनि गोरखापत्र अनलाईनले समाचार छापेको छ ।

Facebook Comments