२०८३ मंसिर ११, शुक्रवार

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन माग, संविधान र कानुन संशोधन गर्न अभियानको आग्रह

       
  • स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीमा रूपान्तरण गर्न नागरिक अभियानको माग ।
  • दलीय प्रतिस्पर्धाले स्थानीय तहमा भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरुपयोग बढाएको आरोप ।
  • पाँचवर्षे विकास योजनासहित घोषणापत्र पेस गरेर प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न सुझाव ।

 काठमाण्डू । स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ ।

अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन सके नागरिकमैत्री सरकार निर्माण हुने र यसबाट मुलुकको विकासमा ठूलो सघाउ पुग्ने भन्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले यसका लागि आगामी स्थानीय तहको निर्वाचनअघि नै संविधान र कानुनमा आवश्यक संशोधन गर्न माग गरेको छ ।

स्थानीय सरकारहरू राजनीतिक दलका स्थानीय अखडा र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको भन्दै अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरुपयोग बढेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा कानुनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा दलीय ‘सिन्डिकेट’ अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा परिचालन हुनुपर्नेमा भ्युटावरलगायत अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी गर्नुभयो । गैरदलीय निर्वाचनमार्फत स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो ।

त्यस्तै, सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन गैरदलीय स्थानीय सरकार आवश्यक रहेको बताउनुभयो ।

नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले राजनीतिक नेतृत्व र स्थानीय सत्ताको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वर्तमान सङ्कट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिहरू छनोट गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले पछिल्लो राजनीतिक गतिविधिले स्थानीय तहमा गैरदलीय निर्वाचनको आवश्यकता थप पुष्टि गरेको बताउनुभयो ।

इन्जिनियर थलबहादुर तामाङले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिको प्रभावले देशको अर्थतन्त्रमा असर पर्न सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

अभियानले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको नेतृत्वमा समावेशी समूह गठन गरी गैरदलीय निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।

साथै, निर्वाचनमा सहभागी समूहले पाँचवर्षे विकास योजनासहितको घोषणापत्र पेस गरी त्यसकै आधारमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

स्थानीय उत्पादन, प्रविधि, नवप्रवर्तन, उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने अभियानको सुझाव छ । स्थानीय उत्पादन खरिद गरी त्यसको ब्रान्डिङ र बिक्रीको व्यवस्था स्थानीय सरकारले नै गर्नुपर्ने पनि उसले जनाएको छ ।

त्यसैगरी, जनप्रतिनिधिलाई नागरिकप्रति जवाफदेही बनाउन नियमित सार्वजनिक सुनुवाइ, घोषणापत्र कार्यान्वयनको मूल्याङ्कन, नागरिक निगरानी तथा बजेट र योजनामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने अभियानले जनाएको छ । रासस

Facebook Comments