Sat. Jul 27th, 2024

अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता समिति गठन

काठमाडौं, २०७७ असोज २१ गते बुधबार

प्रा.डा. गोविन्द केसी अनशन बसेको २४ दिनपछि सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् । ‘सरकारले डा. केसीसँग वार्ता गरेर उहाँका मागको विषयमा छलफल गर्ने जिम्मेवारी दिएको छ’, सचिव मैनालीले अन्नपूर्णसँग कुरा गर्दै भने ।

 भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

२४ दिनदेखि अनशनरत केसीको जीवनरक्षामा सरकारले पहल नगरेको भन्दै बुधबार नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

डा. केसीको तर्फबाट वार्ता गर्न डा. क्षेत्रीको संयोजकत्वमा समिति गठन

२४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको तर्फबाट सरकारी टोलीसँग वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ ।

बुधबार केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य रहेका छन् ।

सरकारले शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरे लगत्तै केसीको तर्फबाट वार्ता गर्न समिति गठन भएको हो । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments