Mon. May 6th, 2024

डा. केसी पक्ष र सरकारी टोलीबीचको छलफल सकारात्मक

काठमाडौं, २०७७ असोज २२ गते बिहीबार

प्रा.डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीचको छलफल सकारात्मक भएको छ।

बिहान साढे १० बजेपछि सुरु भएको वार्ता ३ बजे केही समयका लागि स्थगित भएको थियो। त्यसपछि पुनः ५ बजे सुरु भएको थियो ।

केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन गरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।

केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो। डा. केसी वार्ता टोलीको सदस्यमा डा. अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।

वार्ता सकारात्मक 
पहिलो दिनको वार्ता सकारात्मक भएको छ। दुवै पक्षले चाँडोभन्दा चाँडो सहमति गरेर डा. केसीको अनशन तोडाउने गरी सहमति खोज्ने प्रयास गरेका छन्।  ‘वार्ता सकारात्मक छ’, केसीका सहयोगी सुवेदीले भने।’

भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।  स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

Facebook Comments