Sun. May 19th, 2024

हिन्दू मतदाता फकाउन मोदीको प्रशंसा गर्दै ट्रम्प

काठमाडौं, २०७७ भदौं २० गते शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अचानक प्रशंसा गरेका छन् । विपक्षी दल डेमोक्रेटिकका नेता तथा उम्मेदवारहरुले भारतीय अमेरिकीहरुको समुदायलाई सम्बोधन गरिरहेका बेला ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।

ट्रम्पले भारत भ्रमणको प्रसंग समेत जोड्दै मोदीले कठिन समयमा पनि राम्रो काम गरिरहेको भन्दै उच्च प्रशंसा गरेका हुन् । उनले मोदी आफ्नो साथी र राम्रो नेता भएको प्रतिक्रिया पनि दिएका छन् ।

शुक्रबार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुन् । उनले धेरै राम्रो काम गरिरहेका छन् । उनी धेरै राम्रो नेता हुन् ।” अहिले काम गर्न गाह्रो हुँदाहँदै मोदीले जे गरिरहेका छन् यो धेरै राम्रो भएको ट्रम्पको दावी थियो । उनले ट्वीटरमार्फत मोदीको कामको प्रशंसा गरेका थिए ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने चुनावमा ट्रम्पले भारतीय समुदायबाट पहिले जस्तो धेरै मत नपाउने विश्लेषण भइरहेका बेला उनले मोदीको प्रशंसा गरेका हुन् । त्यसो त, ट्रम्पका प्रतिष्पर्धी जो बाइडेन र उनीसँगै उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी कमला ह्यारिसले अमेरिकामा रहेको २० लाख भन्दा ठूलो हिन्दू समुदाय र भारतीय मूलका आप्रवासीहरुबाट राम्रो मत पाउने अपेक्षा गरिएको छ ।

कमला स्वयं भारतीय मूलकी नेत्री हुन् । बाइडेनले पनि यसबीचमा भारतीय समुदायमा भइ उनीहरुको प्रशंसा गरिसकेका छन् । ट्रम्प भने पछिल्लो समय आप्रवासीविरोधी नेताको रुपमा चिनिँदैआएका छन् । यद्यपि २०१६ को निर्वाचनमा भारतीय अमेरिकीहरुको ठूलो समूह ट्रम्पको पक्षमा थियो ।

ट्रम्पले अचानक मोदीको प्रशंसा गर्नुको पछाडि अमेरिकामा रहेका लाखौँ हिन्दू र भारतीय मूलका आप्रवासी समुदायबाट मत संकलन गर्नु एक प्रमुख कारण रहेको स्थानीय मिडिया र विश्लेषकहरुले गर्न थालेका छन् । यसवाहेक अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले केहीअघि चीनसँगको सीमा विवादमा आफूहरु भारतको पक्षमा रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments