Mon. Dec 23rd, 2024

अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

काठमाडौं, २०७७ भदौं १९ गते शुक्रबार

अर्थमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिनु भएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा राजीनामा घोषणा गर्नुभएका उहाँले सिंहदरबारमा बिदाइ भेटघाट गरेपछि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनु भएको हो।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेपछि सञ्चारमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका खतिवडाले राजीनामा दिनु भएको हो। संवैधानिक प्रावधान अनुसार उहाँले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि दिनु भएको हो।

गएको फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त हुनुभएका खतिवडाले प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाउनु भएको हो।थाहा खवरका अनलाईनका अनुसार बालुवाटारमा भएको मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्रालयमा भएको बिदाइ भेटका क्रममा खतिवडाले आफ्नो कार्यकाल सफल भएको बताउनु भयो। उहाँले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

अर्थमा उहाँले संघीयता कार्यान्वयनका लागि आफूले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो। खतिवडाले संघीयता कार्यान्वयनका क्रममा वित्तीय व्यवस्थापन अति चुनौतीपूर्ण रहेको अवस्थामा त्यसलाई आफूले कुशलतापूर्वक सम्हालेको बताउनु भयो । अढाई वर्ष अर्थमन्त्रालय सम्हालेर बाहिरिने क्रममा खतिवडाले सरकारको वित्तीय प्रणाली सुधार तथा भ्याट फिर्ता खारेजीको निर्णयमा आफूले सफलतापूर्वक भूमिका बताउनु भयो ।

अर्थ मन्त्रालयमा भएको बिदाइका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, मन्त्रालयका अर्थ सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसहित सहभागी हुनुभएको थियो। मन्त्री खतिवडाले सञ्‍चार मन्त्रालय पनि सम्हालिरहनु भएको थियो ।

गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन काण्डमा मुछिएपछि सञ्‍चार मन्त्रालय पनि सम्हाल्नु भएका खतिवडाले त्यहाँ पनि बिदाइ भेट गर्नुभएको थियो।

Facebook Comments