Sun. May 19th, 2024

प्रधानमन्त्री ओलीद्वारा ५० हजार टन युरिया मल पैंचो दिन बंगलादेशकी समकक्षी हसिनालाई आग्रह

काठमाडौं, २०७७ भदौं १६ गते मंगलबार

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो सिजनमा खेतीपातीको लागि आवश्यक रासायनिक युरिया मल निर्यातको लागि सहयोग गर्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई आग्रह गरेका छन् ।

ओली र हसिनाबीच मंगलबार टेलिफोन संवाद भएको हो । संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गरेका हुन् ।

दुई नेताबीचको वार्तापछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ । ओलीले पनि सामाजिक संजाल ट्वीटरमार्फत संवादका दौरान यो सिजनमा छिटै आवश्यक परेको रासायनिक मलको निर्यातको सम्बन्धमा आफूले गरेको आग्रहलाई हसिना सकारात्मक देखिएको उल्लेख गरेका थिए ।

खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैँचो (सापटी) लिन लागेको हो । त्यसको लागि कृषि मन्त्रालयले केहि समय अघिदेखि नै गृहकार्य गर्दै आइरहेको थियो ।

कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रले पनि ढाकामा बंगलादेश सरकारसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।

यस्तैबीच कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई आवश्यक मलको लागि बंगलादेशसँग उच्च तहमै पहल गर्नुपर्ने औँल्याउदै प्रधानमन्त्री ओलीलाई नै भेटेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

त्यसैलाई ध्यानमा राखेर ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाललाई मल निर्यात गर्ने सम्बन्धमा संवाद गरेका हुन् ।

वार्ताको दौरान दुई जनाले दुई मुलुकबीच व्यापार, ऊर्जा र पारवहनलगायतका विषयमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए भनि कान्तिपुर अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments