Tue. Apr 16th, 2024

एसईईको नतिजा सार्वजनिक

- चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित

काठमाडौं, २०७७ भदौं १ गते सोमबार

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रामाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ । विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई सङ्कलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीको ग्रेड सिट १५ दिनपछि
यसैबीच, एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि पाउनेछ । बोर्डका अध्यक्ष पौडेलले मङ्गलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जानकारी दिनुभयो । कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुर्याउन केही कठिनाइ हुने देखिएको उल्लेख गर्नुभयो ।

गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । यसैबीचमा सरकारले पूर्वनिर्धारित हिसाबले परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेपछि विद्यालयले यसअघि गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा दिने नीतिगत निर्णय सरकारले गरेको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments